१८ जेठ २०८३, सोमवार

‘चिठ्ठी के पठाम’ : हराउँदै गएको गाउँ र अमर प्रेमको कथा

प्रोफाईल खबर १८ जेठ २०८३, सोमवार

News Summary

This Summary is Generated by AI & Editorially reviewed.

  • नयाँ लोक दोहोरी गीत "चिठ्ठी के पठाम" सार्वजनिक भएको छ, जसले बागलुङको बलेवास्थित ऐतिहासिक 'ढकाल बस्ती' को मौलिक कथा समेटेको छ।
  • यो गीतले आधुनिकताबीच पनि पुराना चिठ्ठी, निस्कपट माया, ग्रामीण परिवेश र पवित्र ढकाल बस्तीको 'लोके-चमेली' को प्रेम कथालाई जीवन्त रूपमा प्रस्तुत गरेको छ।

काठमाडौं। धौलागिरीको काखमा रहेको बागलुङको बलेवास्थित ऐतिहासिक 'ढकाल बस्ती' को मौलिक कथा र सुन्दरतालाई समेटेर तयार पारिएको नयाँ लोक दोहोरी गीत "चिठ्ठी के पठाम" सार्वजनिक भएको छ। नकुल ढकाल (नवीन) र नविना ढकालको सुमधुर स्वरमा रहेको उक्त गीत डिजिटल बजारमा सार्वजनिक भएसँगै यसले दर्शकको राम्रो साथ पाइरहेको छ। चर्चित गीतकार नकुल ढकाल (नवीन) शब्द तथा लोकप्रिय गायक तथा संगीतकार वसन्त थापाको संगीत रहेको यस गीतले प्रविधिको यो आधुनिक युगमा पनि पुराना दिनका चिठ्ठी, निस्कपट माया र गाउँको मौलिक परिवेशलाई जीवन्त रूपमा प्रस्तुत गरेको छ। प्रविधिको विकासले संसारलाई साँघुरो बनाए पनि मनको भावना र पुराना दिनको यादलाई गीतमा निकै मार्मिक ढंगले उतारिएको छ।

यस गीतको म्युजिक भिडियोमा एउटा फरक र अनुकरणीय गाउँको कथा देखाइएको छ। आजसम्म मदिराले प्रवेश नपाएको र कुल पूजामा चढाइने बलि बाहेक कहिल्यै काटमार समेत नहुने पवित्र ढकाल बस्तीलाई भिडियोको मुख्य पृष्ठभूमि बनाइएको छ। समयसँगै युवा पुस्ता पलायन हुँदा गाउँ रित्तिँदै गएको पीडा, अधुरो कुल पूजा र विस्थापनको दुःखका बीच पनि गाउँमा अझै जीवित रहेको 'लोके' र 'चमेली' को पवित्र प्रेम कथालाई भिडियोमा कलात्मक रूपमा प्रस्तुत गरिएको छ। डिजिटल मिडियामा भर्खरै सार्वजनिक भएको यस गीतको म्युजिक भिडियोको निर्देशकीय पक्ष र छायांकन निकै उत्कृष्ट रहेको छ।

बागलुङ बलेवाको प्राकृतिक सुन्दरता, पुर्ख्यौली संस्कार र ग्रामीण जीवनको यथार्थ बुझ्नका लागि पनि यो भिडियो विशेष बनेको छ। कला र संस्कृतिको संरक्षण गर्दै गाउँकै परिवेशमा तयार पारिएको यो भिडियोले नेपाली लोक संगीतको बजारमा छुट्टै पहिचान बनाउने र दर्शकको मन जित्नेमा निर्माण टिम पूर्ण रूपमा विश्वस्त देखिन्छ। सो गीतको भिडियोमा प्रशान्त मगरको निर्देशन तथा कोरियोग्राफी, करण चैशिरको छायांकन, प्रबिन भट्टको सम्पादन रहेको छ। उक्त गीतको भिडियोमा नबिन ढकाल (नबिन) र जुना बिश्वकर्माको अभिनय रहेको छ। “चिठी के पठाम” गीतलाई नकुल ढकाल (नबिन) को युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।

लेखकको बारेमा

प्रोफाईल खबर

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट