२७ वैशाख २०८३, आइतवार

कुन्छाल गाउँ : संस्कृति, प्रकृति र इतिहासको अनुपम संगम

प्रोफाईल खबर २७ वैशाख २०८३, आइतवार

News Summary

This Summary is Generated by AI & Editorially reviewed.

  • मकवानपुरको करिब ५०० वर्ष पुरानो कुन्छाल गाउँ गोपाली समुदायको मौलिक भाषा, परम्परा र एकरूप बसोबास भएको एक अनुपम ग्रामीण बस्ती हो।
  • यहाँ १२ वर्षे नाच जस्ता दुर्लभ सांस्कृतिक परम्पराहरू जीवित छन् र शान्त हरियाली वातावरण तथा हिमशृङ्खलाको दृश्यावलोकनका लागि यो एक सम्भावनायुक्त पर्यटकीय गन्तव्य हो।

संघिय राजधानी काठमान्डौको दक्षिणी भागमा अवस्थित मकवानपुर जिल्लाको काखमा लुकेको एक अनुपम प्राकृतिक र सांस्कृतिक रत्न हो - "कुन्छाल गाउँ"। हरियाली पहाड, शान्त वातावरण र ऐतिहासिक गाथाले भरिएको यो गाउँ केवल एउटा बस्ती मात्र होइन, नेपालको मौलिक ग्रामीण सभ्यताको जीवन्त संग्रहालय पनि हो। करिब ५०० वर्ष पुरानो गौरवशाली इतिहास बोकेको कुन्छाल आज पर्यटन, संस्कृति र परम्परागत जीवनशैलीका कारण निरन्तर आकर्षणको केन्द्र बन्दै गएको छ।

यहाँको विशेषता भनेको परम्परागत गोपाली (नेवारी) समुदायको सांस्कृतिक, रहनसहन र ऐतिहासिककलात्मक शैलीको परिवेश हो । लहरै झण्डै १५० घरधुरी रहेको यस गाउँमा अधिकांश मानिस एउटै गोपाली थरका छन्, जसले यहाँको सामाजिक एकता, मेलमिलाप र सांस्कृतिक गहिराइलाई अझ मजबुत बनाएको छ। आफ्नै मौलिक भाषा, परम्परा, रहनसहन र जीवनशैलीले कुन्छाललाई अरू गाउँभन्दा अलग र विशिष्ट पहिचान प्रदान गरेको छ।

कुन्छाल गाउँ सांस्कृतिक दृष्टिले पनि अत्यन्तै समृद्ध छ। यहाँ आज पनि १२ वर्षे नाच, हिले नाच जस्ता दुर्लभ र मौलिक सांस्कृतिक परम्पराहरू जीवित रूपमा संरक्षित छन्। दशैं, तिहार लगायतका चाडपर्वहरू यहाँ केवल पर्व मात्र नभई सम्पूर्ण गाउँलाई एकताको डोरीमा बाँध्ने उत्सवका रूपमा भव्य र उल्लासपूर्ण ढंगले मनाइन्छन्।

कृषिमा आधारित यो गाउँ हरियाली खेत, सुनौलो धानबाली, मकैबारी र प्राकृतिक सौन्दर्यले सजिएको छ। बिहानको कुहिरो, चराचुरुङ्गीको आवाज र शुद्ध हावाले यहाँको वातावरणलाई अत्यन्तै शान्त, रमणीय र मनमोहक बनाउँछ।

पछिल्लो समय कुन्छालमा विकासको गति पनि देखिन थालेको छ। सडक सञ्जाल विस्तार हुँदै गएको छ, शिक्षा र सञ्चार सुविधामा सुधार आएको छ। युवा पुस्ता आधुनिक प्रविधि, शिक्षा र रोजगारीतर्फ आकर्षित भइरहेका छन् भने अर्कोतर्फ गाउँको मौलिक पहिचान, संस्कृति र परम्परा जोगाउने प्रयास पनि समानान्तर रूपमा जारी छ।

पर्यटनको दृष्टिले कुन्छाल अत्यन्त सम्भावनायुक्त गन्तव्य हो। यहाँ सञ्चालनमा रहेका होमस्टेहरूले पाहुनालाई स्थानीय जीवनशैली नजिकबाट अनुभव गर्ने अवसर प्रदान गर्छन्। कुन्छाल गाउँबाट दामन, कुलेखानी र मार्खु जस्ता प्रमुख पर्यटकीय स्थलहरू पनि नजिकै पर्दछन । कुन्छाल गाउँ आसपासमा मनमोहक दृश्य हरु  भएका कारणले पछिल्ला वर्षहरूमा यहाँ फिल्म तथा म्युजिक भिडियो छायांकन आकर्षक केन्द्र बन्दै गएको छ, जसले कुन्छाललाई अझ व्यापक रूपमा चिनाउन मद्दत गरिरहेको छ।

शान्त वातावरण, आत्मीय र सहयोगी मानिसहरू, समृद्ध संस्कृति र अद्भुत प्राकृतिक सौन्दर्यले भरिएको कुन्छाल गाउँ वास्तवमै नेपालको ग्रामीण जीवनको एक चम्किलो उदाहरण हो। शहरको भीडभाड, धुलो-धुवाँ र व्यस्त जीवनबाट टाढा बसेर यदि तपाईंले शान्ति, प्रकृति र मौलिक संस्कृतिको वास्तविक अनुभव खोजिरहनुभएको छ भने, मकवानपुरको कुन्छाल गाउँ एकपटक अवश्य पुग्नुपर्ने स्वर्गीय गन्तव्य हो।

 

 

 

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट