‘धौलागिरी शिर’ सार्वजनिक: पञ्चेबाजाको मौलिकता बोकेको सुजन बराइली–देवी घर्ती मगरको नयाँ प्रस्तुति
प्रोफाईल खबर
१७ वैशाख २०८३, बिहिवार
काठमाडौं — नेपाली लोक तथा दोहोरी संगीतको क्षेत्रमा मौलिक पञ्चेबाजा गीतहरूको छुट्टै पहिचान र सांस्कृतिक महत्व रहँदै आएको सन्दर्भमा गायक सुजन बराइली र चर्चित लोक गायिका देवी घर्ती मगरको सुमधुर स्वरमा सजिएको नयाँ गीत ‘धौलागिरी शिर’ सार्वजनिक गरिएको छ। उक्त गीत सुजन बराइली अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
मौलिकतालाई केन्द्रमा राखेर निर्माण गरिएको यस गीतमा प्रल्हाद सुवेदीका भावनात्मक तथा मर्मस्पर्शी शब्दहरू रहेका छन् भने संगीत स्वयं गायक सुजन बराइलीले दिएका छन्। संगीत संयोजन रमेश सेन्चुरीले गरेका हुन् भने चर्चित साउण्ड इन्जिनियर श्यामश्वेत रसाइलीले मिक्सिङ तथा मास्टरिङमार्फत अडियोलाई थप परिष्कृत बनाएका छन्।
गीतको म्युजिक भिडियोले वैदेशिक रोजगारीको यथार्थसँगै मायालु जोडीबीचको आत्मीय सम्बन्धलाई सशक्त ढंगले प्रस्तुत गरेको छ। विदेशमा रहँदा पनि आफ्नो माटो र मायाप्रतिको तड्पन, प्रतीक्षा र भावनात्मक द्वन्द्वलाई कथावस्तुका रूपमा चित्रण गरिएको भिडियोमा सुजन बराइली, यशु भट्टराई, रियोश बराइली र करुणा नेपालीको अभिनय देख्न सकिन्छ। विशेषगरी सुजन र यशुको जोडीले दर्शकमाझ राम्रो प्रतिक्रिया पाएको छ।
भिडियोको निर्देशन कुमार केसीले गरेका छन् भने छायांकन अजय रेग्मीले गरेका हुन्। सम्पादन तथा रङ संयोजन अमृत चापागाईँले गरेका छन्, जसले दृश्यलाई थप जीवन्त, आकर्षक र दर्शनीय बनाएको छ।
आगामी लगन तथा चाडपर्वलाई लक्षित गर्दै सार्वजनिक गरिएको ‘धौलागिरी शिर’ले नेपाली लोक संगीतमा पञ्चेबाजाको मौलिक स्वादलाई पुनः उजागर गर्दै यसको लोकप्रियता अझै विस्तार गर्ने अपेक्षा गरिएको छ। सार्वजनिक भएसँगै गीतले युट्युब र सामाजिक सञ्जालमा उत्साहजनक प्रतिक्रिया बटुल्न थालेको छ।
सुजन बराईलीले आफ्नो जन्मभुमीलाई समेट्दै केही समय अघि" मल्लाज दरबार" गीत पनि ल्याएका थिए। यस गीतले पनि चर्चा कमाउन सफल भएको थियो।


प्रोफाईल खबर