आशा बिश्वकर्माको "पिरको भारीले" सार्वजनिक, परदेशको पीडा र बाकसमा फर्किएको सपना
प्रोफाईल खबर
३ जेठ २०८३, आइतवार
News Summary
This Summary is Generated by AI & Editorially reviewed.- शान्तिश्री परियार र कुशल बेलबासेको नयाँ गीत 'पिरको भारीले' सार्वजनिक भएको छ, जसले वैदेशिक रोजगारीका पीडा र गरिबीको बाध्यतालाई मार्मिक ढंगले चित्रण गरेको छ।
- गीतको भिडियोमा विदेशमा मृत्यु भई बाकसमा फर्कने श्रमिकको हृदयविदारक कथा देखाइएको छ, जसले स्वदेशमै रोजगारी सुनिश्चित गर्न राज्यलाई बलियो सन्देश दिएको छ।
काठमाडौँ । नेपाली लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय सामाजिक र समसामयिक विषयवस्तुमा आधारित सिर्जनाहरूले बजार पिटिरहेका बेला फेरि अर्को एउटा निकै मार्मिक र सन्देशमूलक गीत 'पिरको भारीले' सार्वजनिक भएको छ। चर्चित गायिका शान्तिश्री परियार र गायक कुशल बेलबासेको सुमधुर स्वरमा सजिएको यस गीतले वैदेशिक रोजगारीको सिलसिलामा नेपालीहरूले भोग्नुपर्ने बाध्यता, गरिबीको चपेटा र परदेशमा हुने अकल्पनीय वियोगलाई निकै मार्मिक ढंगले चित्रण गरेको छ। बिक्रमबाबु विश्वकर्माको शब्द रचना, सन्दिप सेञ्चुरीको थेगो र संगीत रहेको छ भने विनोद बाजुरालीको उत्कृष्ट एरेन्ज रहेको यस गीतलाई आशा विश्वकर्माको आधिकारिक युट्युब च्यानलमार्फत बजारमा ल्याइएको हो।
गीतको भिडियोमा हाम्रो समाजको तितो पारिवारिक समस्या तथा बाध्यताहरूलाई निकै गहिराइमा पुगेर केलाइएको छ। घरको श्रीमान् अशक्त र गरिब भएपछि परिवार पाल्ने र उपचार गर्ने खर्च जुटाउनका लागि अन्ततः श्रीमती नै पैसा कमाउन विदेश पलायन हुनुपर्ने बाध्यतालाई भिडियोमा देखाइएको छ। तर, परदेश पुगेकी ती नेपाली नारीले त्यहाँ निकै दर्दनाक र क्रुर परिस्थितिको सामना गर्नुपर्छ। अनेकौँ यातना भोग्दै अन्ततः ज्यान गुमाउन पुग्छिन् र नेपालमा उनको मृत शव भित्रिन्छ। विमानस्थलमा बाकसमा आएको शव र परिवारको रुवाबासीले जो कोहीको मुटु छियाछिया बनाउँछ।
जेरी भण्डारीको कथा, निर्देशन तथा कोरियोग्राफी रहेको यस भिडियोमा आशा विश्वकर्मा, राज बानियाँ, सान्भी परियार, मनिषा बिक र नारायण जीसीको निकै उत्कृष्ट र जीवन्त अभिनय देख्न सकिन्छ। वीरेन्द्र परियार र टिमले खिचेको यस भिडियोलाई असीम चन्द्र विश्वकर्माले आकर्षक कलर र भिडियो सम्पादन गरेका हुन्। साँझ-बिहानको छाक टार्न परदेशिएको पात्रले भोग्ने यही मानसिक र शारीरिक पीडा नै 'पिरको भारी' बनेको सन्देश गीतले दिएको छ। 'मलाई हाँस्न दिएन, मलाई बाँच्न दिएन' भन्ने शब्दले विदेश जानेहरूको मात्र नभई उनीहरूका पछाडि परिवारको मानसिक छटपटीलाई पनि बोलेको छ। रिलिज भएको छोटो समयमै युट्युब र टिकटकमा भाइरल बनेको यस गीतले केवल मनोरञ्जन मात्र नभई स्वदेशमै रोजगारी र सुरक्षाको ग्यारेन्टी गर्न राज्यलाई एक प्रकारको बलियो दबाब र सन्देश पनि दिएको छ।


प्रोफाईल खबर