बसन्त थापा र सुष्मा बिसीको मौलिकताको सुगन्ध बोकेको ‘कोठी गालैको’ सार्वजनिक
प्रोफाईल खबर
१७ वैशाख २०८३, बिहिवार
काठमाडौँ: नेपाली लोक तथा दोहोरी सङ्गीतको क्षेत्रमा बेग्लै पहिचान बनाउन सफल गायक बसन्त थापा र सुमधुर स्वरकी धनी गायिका सुष्मा बिसीको सुमधुर आवाजमा नयाँ पञ्चेबाजा गीत ‘कोठी गालैको’ सार्वजनिक भएको छ। नेपाली मन र माटोको कथालाई पञ्चेबाजाको ओझिलो धूनमा उनेर तयार पारिएको यो गीतले सङ्गीत बजारमा छुट्टै रौनक थपेको छ।
यस सिर्जनालाई शब्द र सङ्गीतमार्फत जीवन्त बनाउने काम दीपेन्द्र बिसीले गर्नुभएको छ। गीतको हरेक शब्दले ग्रामीण परिवेशको प्रेम र समर्पणलाई कलात्मक रूपमा प्रस्तुत गरेको छ। पूर्ण संयोगको उत्कृष्ट सङ्गीत संयोजन र एचबीएन किस्मतको स्तरीय मिक्सिङ-मास्टरिङले गीतलाई श्रुतिमधुर बनाएको छ। राज खड्काको रेकर्डिङमा तयार भएको यो गीतले प्राविधिक रूपमा पनि उच्च गुणस्तर कायम गरेको छ।
दृश्यतर्फ, निर्देशक तथा कोरियोग्राफर मुकेश नेपालीले भिडियोलाई चलचित्रको शैलीमा भव्य रूप दिएका छन्। कलाकारहरू सिरिष बस्नेत, मुकेश नेपाली, गीता ढुङ्गाना र पार्वती श्रेष्ठको ऊर्जावान् अभिनयले दर्शकलाई भिडियोको अन्त्यसम्म बाँधिराख्छ। बुद्ध थापाको जादुमयी छायाङ्कन र अमृत चापागाईंको चुस्त सम्पादनले भिडियोलाई झनै आकर्षक र रङ्गीन बनाएको छ। सहायक कोरियोग्राफर कृष्ण मगरको मेहनत पनि भिडियोको नृत्यमा प्रष्ट देखिन्छ।
नेपाली संस्कारमा पञ्चेबाजाको आफ्नै गौरवमय इतिहास छ। यो गीतले केवल मनोरञ्जन मात्र नभई नयाँ पुस्तालाई आफ्नो संस्कृतिको सामीप्यमा ल्याउने प्रयास गरेको छ। विवाह, व्रतबन्ध र मेला-महोत्सवहरूमा घन्किने यो भाकाले लोकप्रेमीहरूको मन जित्ने निश्चित छ। सिरिष बस्नेतको युट्युब च्यानलबाट सार्वजनिक यस गीतले नेपाली मौलिक कलाको श्रीवृद्धिमा अर्को एउटा बलियो इँटा थपेको छ।


प्रोफाईल खबर