३ फागुन २०८२, आइतवार

अन्नपूर्ण क्षेत्रमा पर्यटकको ऐतिहासिक उछाल, सन् २०२५ मा झण्डै तीन लाख विदेशी आगमन

प्रोफाईल खबर २७ माघ २०८२, मङ्गलवार

News Summary

This Summary is Generated by AI & Editorially reviewed.

  • कोभिड महामारी र प्राकृतिक विपत्तिपछि अन्नपूर्ण क्षेत्रको पर्यटन बलियो बनेको छ, जहाँ सन् २०२५ मा करिब ३ लाख विदेशी पर्यटक आगमन भई नयाँ कीर्तिमान कायम भएको छ।
  • पदयात्रा, धार्मिक पर्यटन र प्राकृतिक सौन्दर्यका कारण अन्नपूर्ण क्षेत्र विश्वकै उत्कृष्ट पदयात्रा गन्तव्यका रूपमा परिचित छ।

काठमाडौं । कोभिड–१९ महामारी र पटक–पटकका प्राकृतिक विपत्तिका कारण केही वर्ष ओरालो लागेको अन्नपूर्ण क्षेत्रको पर्यटन पछिल्ला वर्षहरूमा पुनः मजबुत बन्दै गएको छ। सन् २०२५ मा अन्नपूर्ण क्षेत्रमा हालसम्मकै सबैभन्दा धेरै विदेशी पर्यटक आगमन भई नयाँ कीर्तिमान कायम भएको छ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार पछिल्ला २५ वर्षमा अन्नपूर्ण क्षेत्रमा कुल २६ लाख ३२ हजार ४ विदेशी पर्यटक भित्रिएका छन्। यसमध्ये सन् २०२५ मा मात्रै दुई लाख ९९ हजार ८३१ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्र भ्रमण गरेका छन्, जुन हालसम्मकै उच्च संख्या हो। यसअघि सन् २००१ मा ६५ हजार ३१३ विदेशी पर्यटक मात्र पुगेका थिए भने कोभिड–१९ को चरम प्रभाव परेको सन् २०२१ मा सबैभन्दा कम १६ हजार १०५ पर्यटक मात्र अन्नपूर्ण पुगेका थिए।

एक्यापका अनुसार सन् २०१० सम्म अन्नपूर्ण क्षेत्रमा वार्षिक एक लाखभन्दा कम पर्यटक आगमन हुँदै आएको थियो। तर सन् २०११ को नेपाल भ्रमण वर्षमा पहिलो पटक पर्यटक संख्या एक लाख नाघेको थियो। सन् २०१५ को गोरखा भूकम्पले केही समय पर्यटन प्रभावित भए पनि पछिल्ला वर्षहरूमा अन्नपूर्ण क्षेत्र फेरि विश्वका पदयात्रीको रोजाइमा फर्किएको देखिन्छ।

सन् २०२२ यता पर्यटक आगमनमा निरन्तर वृद्धि हुँदै आएको छ। सन् २०२२ मा एक लाख २९ हजार ७२३, सन् २०२३ मा एक लाख ९१ हजार ५५८, सन् २०२४ मा दुई लाख ४४ हजार ३९ र सन् २०२५ मा झण्डै तीन लाख विदेशी पर्यटक अन्नपूर्ण पुगेका छन्।

एक्यापका प्रमुख डा. रबिन कडरियाका अनुसार सन् २०२५ मा आएका पर्यटकमध्ये एक लाख ७७ हजार ६२८ दक्षिण एसियाली मुलुकका र एक लाख २२ हजार २०३ अन्य देशका रहेका छन्। पदयात्रा, धार्मिक पर्यटन र प्राकृतिक सौन्दर्यका कारण अन्नपूर्ण क्षेत्र पर्यटकका लागि आकर्षणको केन्द्र बनेको उनले बताए।

अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ र घोडेपानीजस्ता गन्तव्यमा वर्षेनि लाखौँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन्। कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडा समेटिएको अन्नपूर्ण संरक्षण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता र हिमाली संस्कृतिका कारण विश्वकै उत्कृष्ट पदयात्रा गन्तव्यका रूपमा परिचित छ।

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट