२१ माघ २०८२, बुधवार

मत्स्यकन्यादेखि छाब्दी बाराहीसम्म : विश्वासले जन्माएको देवी

प्रोफाईल खबर ९ माघ २०८२, शुक्रवार

News Summary

This Summary is Generated by AI & Editorially reviewed.

  • छाब्दी बाराही देवीको उत्पत्ति पराशर ऋषि र मत्स्यकन्याको पौराणिक कथासँग जोडिए पनि, यसको स्थापना भने स्थानीय मगर जहरसिंहले सपनामा देवीको दर्शन पाई कुण्डमा रहेको शिलालाई पूजा गर्न थालेपछि भएको मानिन्छ।
  • जहरसिंहले खरको छाप्रोबाट पूजा सुरु गरी उनका वंशजका पुजारीहरूले यसलाई निरन्तरता दिए, र पछि राजा सुरेन्द्रबाट गुठी जग्गा प्राप्त भएपछि मन्दिरको संरचना र व्यवस्थापन थप व्यवस्थित भयो।

हाम्रोमा सपनाका कथाले भगवान् जन्मन्छन् । 'रे' का किंवदन्तीहरूले ती भगवान्का शक्ति अझ बढ्दै जान्छन् । मनोकामना पूरा गरिदिने र भाकल पूरा गरिदिने विश्वासले ती मन्दिरमा बिस्तारै भीड बढ्दै जान्छ, जसले गर्दा जनचासो पनि बढ्दै जान्छ । मैले धेरै मन्दिर स्थापनाका इतिहास खोतल्ने क्रममा अधिकांश मन्दिर सपनामा देवता वा देवी आएर मन्दिर स्थापना गर्न लगाएको किंवदन्ती भेटेको छु ।

मादी नदीमा रहेको एक माछाले शिवजीको स्खलित वीर्य खाइदिँदा गर्भ रहन गयो । ती माछालाई एक माझीले जालमा पारेर पेट चिर्दा एक कन्या भेटेछ । मत्स्यको पेटबाट निकालिएको मत्स्य कन्यालाई माझीले आफ्नै छोरी झैं पाल्न थाले । बिस्तारै बृद्ध भएका ती माझीले आफ्नो अशक्ततापछि आफ्नी छोरी लाई डुङ्गा सुम्पिदिएका थिए । डुङ्गा खियाउँदै बृद्ध माझी बुबाको जीवनको सहारा बनेकी ती मत्स्यकन्या डुङ्गा खियाउन मादी तीरमा बसिरहँदा एकदिन पराशर ऋषि मादी तर्ने क्रममा माझी कन्याको डुङ्गा चढ्न पुगे । माझी कन्याको शरीरबाट आएको मत्स्य गन्धका कारण उनको नाम मत्स्यगन्धा मात्रै राखेनन् । एकान्त मौका पाएपछि चारैतिर कुहिरो उत्पन्न गराई कसैले देख्न नसक्ने गराई ती माझी कन्यालाई बूढो पराशरले बलात्कारसमेत गरे ।  बूढो पराशरले गरिब परिवारकी माझी कन्यामाथि बलात्कार गर्दा पनि चुपचाप सहन बाध्य भइन् । ती गरिब कन्यामा बुढो पराशरलाई श्राप दिने अधिकार नै थिएन । अन्तमा ती कन्याको कोखबाट ब्यासको जन्म भयो, पछि ती अविवाहित आमाको नामाकरण सत्यवती राखियो । ब्यास योग्य पुत्र भएर जन्म लिए । उनको ज्ञानगुनका कुरा र उनका कृतिका कुराले सत्यवतीको नाम पनि सुबिख्यात भयो ।
समयसँगै माझी कन्याको पुत्र ब्यास ठूलो हुँदै गए । ऋषीमुनिका शिक्षादीक्षा लिन थाले । पराशर ऋषीका पुत्र भएका कारणले पनि उनमा ज्ञानको कमी थिएन । बिस्तारै प्रख्यात हुँदै गए । पछि उनैले आफ्ना अविवाहित आमाका लागि छाब्दीमा देवीका रूपमा रहने व्यवस्था मिलाए । ती मत्स्यकन्या भेटिएको कुण्डको नाम मत्स्यकुण्ड भयो । ती मत्स्यकन्या छाब्दी बाराहीका रूपमा पूजिन थालिन् ।

यस पुराणसँग गाँसिएको कथालाई अर्को किंवदन्तीमा जोडिएको छ । यस किंवदन्ती बनाइनुको कारण हजारौँ वर्ष अगाडिदेखिकाे छाब्दी देवी रहेको तर सबैबाट बेवास्ता हुँदा देवी एक स्थानीय मगरको सपनामा आएर पूज्न अनुरोध गरेको भन्ने देखिन्छ ।तनहुँको छाब्दी बाराहीको कथा पुराणबाट फेरि किंवदन्तीका रूपमा प्रचलित हुन पुगेको छ । तिथि मिति नै तोकेर कथाको सुरुवात भएको छ मानौँ, यो नै इतिहास हो ।

वि.सं. १८०० जेठ ८ गते राति अन्दाजी ८-९ बजे कर्लुङ गाउँका जहरसिंह आलेमगर छाब्दीखोलामा माछा मारेर गाई चराउँदै जीवन गुजार्दै थिए । एकदिन छाब्दीखोलामा माछा मारेर सुस्ताउँदै थिए, उनको गोठमा एक बालिका बास माग्न आइपुगिन् । रातविरात एक सानी बालिका बास माग्न आएपछि आफूसँग खाने कुरा केही नभएको, ओढ्ने/ओछ्याउनेसमेत नभएको हुँदा आफूले व्यवस्था गर्न नसक्ने विवशता सुनाएपछि आफू देवी भएको तथा कुण्डमा शिलाका रूपमा रहेको हुँदा दैनिक पूजा चलाइ दिन अनुरोध गरेर बालिका अलप भइछिन् । यसरी बास माग्न आएकी बालिका हराएपछि यी पक्कै कुनै देवी हुन् भन्दै जहरसिंहले कुण्डमा हेर्न जाँदा शिला भेटेपछि सोही शिलालाई देवीका रूपमा स्थापना गराइ कुण्डछेउ सानो खरको छाप्रो बनाइ देवीका रूपमा पूजा गर्न थाले ।

पछि वि.सं. १९९५ मा त्यसबेलाका पूजारी मनबहादुर आलेले मन्दिर बनाइदिए । सो मन्दिर निकै लामो समयसम्म रह्यो । हाल भने मन्दिरका रूपमा पक्की संरचना बनेको छ भने मत्स्यकन्याका रूपमा आधा देवी र आधा माछाको स्वरूपको मूर्ति पनि कुण्डमा बनाइएको छ ।
मगर भाषामा 'छाप'को अर्थ पहरा हुन्छ 'डी'को अर्थ पानी बग्ने हुन्छ । पहराबाट पानी बग्ने हुँदा यस खोलाको नाम 'छापडी' भन्ने गरियो । कालान्तरमा छापडी शब्द 'छाब्दी'मा परिवर्तन भयो । मगर भाषामा देवीलाई बाराही भनिन्छ, जसले गर्दा यही छापदीमा अलप भएकी देवी भएको हुँदा 'छापदीबाराही' रहन गयो । पछि अप्रभंश हुँदै छाब्दी बाराही नाम रहन गयो । पुराणका कथा पराशरका कथा वा ब्यासका कथाभन्दा बढी जहरसिंहको सपना (हुन त किंवदन्तीमा बिपना पनि भनिएको भेटिन्छ) का कारणले यी देवीको स्थापना भएको सत्य हो ।

जहरसिंह आलेमगरले खरका छाप्रोले मन्दिर बनाई पहराको ढुङ्गालाई नै छाब्दी बाराहीका रूपमा स्थापना गराएका थिए । उनले मन्दिर स्थापना गराएपछि पूजारीका रूपमा आफैंले देवीको सेवा गरे । २९ वर्षसम्म निरन्तर देवीको सेवा गरेपछि उनको निधनपछि मनध्वज आलेमगरले पूजारीका रूपमा २४ वर्ष सेवा गरे । रजध्वजले ३४ वर्ष सेवा गरे । यसपछि कहरसिंहले ६४ वर्ष सेवा गरेको देखिन्छ । कहरसिंहकै समयमा वि.सं. १९३१ मा राजा सुरेन्द्रले लालमोहर बक्सेर मन्दिरका लागि गुठीका रूपमा ६१ रोपनी १० आना १२ पैसा ३ दाम जग्गा उपलब्ध गराएका थिए । यसपछि भने गुठीका आयस्ताले मन्दिर सञ्चालनमा सहजता भयो । कहरसिंहले वि.सं. १९५१ सम्म पूजारीका रूपमा सेवा गरे । यसपछि लिलाध्वज, भुढे, रामु, मनबहादुर तथा कुलबहादुर आलेमगरले पुजारीका रूपमा सेवा गरेका थिए । हाल यस छाब्दी बाराहीको पूजारीका रूपमा चोलबहादुर आलेमगर छन् ।

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट