राधा माताङ्गी सम्मानित: समाज रुपान्तरणमा उत्कृष्ट योगदानको कदर
प्रोफाईल खबर
१३ वैशाख २०८३, आइतवार
News Summary
This Summary is Generated by AI & Editorially reviewed.- कम्युनिटी डेभलपमेन्ट सेन्टर नेपाल (CDC Nepal) की अध्यक्ष राधा माताङ्गीलाई समाज रूपान्तरण र समुदाय सशक्तीकरणमा पुर्याएको उल्लेखनीय योगदानका लागि नेशनल सोसल वेलफेयर अवार्ड २०२५ प्रदान गरियो।
- उनले यो सम्मानलाई सामूहिक उपलब्धिको रूपमा लिँदै भविष्यमा अझ जिम्मेवारीका साथ समाजसेवामा लाग्ने प्रतिबद्धता व्यक्त गरिन्।
काठमाडौँ: नेपालमा सामाजिक सेवा क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएकी कम्युनिटी डेभलपमेन्ट सेन्टर नेपाल (CDC Nepal) की अध्यक्ष राधा माताङ्गीलाई प्रतिष्ठित नेशनल सोसल वेलफेयर अवार्ड २०२५ बाट सम्मानित गरिएको छ। समाज रुपान्तरण, समुदाय सशक्तीकरण तथा दीगो विकासका विभिन्न क्षेत्रमा पुर्याएको उल्लेखनीय योगदानको उच्च कदरस्वरूप उनलाई उक्त सम्मान प्रदान गरिएको हो।
राधा माताङ्गी लामो समयदेखि शिक्षा, स्वास्थ्य, कृषि विकास, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन जस्ता बहुआयामिक क्षेत्रमा सक्रिय रहँदै आएकी एक प्रतिबद्ध समाजसेवी हुन्। उनले विशेषगरी ग्रामीण तथा पिछडिएका समुदायमा पुगेर जनचेतना अभिवृद्धि, सेवा विस्तार तथा जीवनस्तर उकास्ने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएकी छन्।
उनकै नेतृत्वमा CDC Nepal ले नेपालका विभिन्न जिल्लाहरूमा सामाजिक विकासका थुप्रै प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। शिक्षा क्षेत्रमा विद्यालयस्तरमा सहयोग, छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण, स्वास्थ्य क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर तथा सचेतना कार्यक्रम, वातावरण संरक्षणका लागि वृक्षारोपण अभियान तथा सरसफाइ कार्यक्रमहरू, साथै विपद् व्यवस्थापनका लागि राहत वितरण तथा उद्धार सहयोगजस्ता कार्यक्रमहरू उल्लेखनीय रूपमा सफल भएका छन्।
यस संस्थाले विशेषगरी महिला सशक्तीकरण, युवा नेतृत्व विकास तथा समुदायमा आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न तालिम तथा सचेतनामूलक कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएको छ। राधा माताङ्गीको नेतृत्वमा यी कार्यक्रमहरूले हजारौं व्यक्तिहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याएको बताइएको छ।
उक्त सम्मान प्रदान गरिएको कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रमका अध्यक्ष प्रदिपराज वन्तले राधा माताङ्गीको योगदानको खुलेर प्रशंसा गर्दै सामाजिक क्षेत्रमा उनको समर्पण, नेतृत्व क्षमता र निरन्तर प्रयास अत्यन्तै प्रेरणादायी रहेको उल्लेख गरे। उनले यस्तो योगदानको कदरस्वरूप सम्मान प्रदान गर्न पाउनु गर्वको विषय भएको बताए।
कार्यक्रमका अन्य वक्ताहरूले पनि राधा माताङ्गीको कार्यशैली, दूरदर्शी सोच र समुदायप्रतिको प्रतिबद्धताको प्रशंसा गर्दै उनको प्रयासले समाजमा दीर्घकालीन सकारात्मक प्रभाव पारिरहेको बताएका थिए। उनीहरूले सामाजिक सेवामा लाग्न चाहने नयाँ पुस्ताका लागि राधा माताङ्गी एक प्रेरणादायी व्यक्तित्व भएको धारणा व्यक्त गरे।
सम्मान ग्रहण गर्दै राधा माताङ्गीले यो उपलब्धि आफ्नो व्यक्तिगत नभई सम्पूर्ण CDC Nepal परिवार, सहयोगी संस्था, स्वयंसेवकहरू तथा शुभेच्छुकहरूको सामूहिक उपलब्धि भएको बताइन्। उनले समाजसेवामा निरन्तर साथ र सहयोग गर्ने सबैप्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनहरूमा अझ बढी जिम्मेवारीका साथ समाज सेवामा लागिरहने प्रतिबद्धता जनाइन्।
उनले भनिन्, “यो सम्मानले मलाई अझ जिम्मेवार बनाएको छ। अब अझ बढी ऊर्जा, समर्पण र इमान्दारीका साथ समाजका लागि काम गर्ने प्रेरणा मिलेको छ।”
यस सम्मानले CDC Nepal को संस्थागत छवि अझ सुदृढ बनाएको छ भने सामाजिक क्षेत्रमा कार्यरत अन्य संस्थाहरूका लागि समेत प्रेरणाको स्रोत बनेको छ। यो उपलब्धिले नेपालमा सामाजिक सेवाको क्षेत्रलाई थप उत्साह र ऊर्जा प्रदान गर्ने विश्वास लिइएको छ।


प्रोफाईल खबर