श्रीस्वस्थानी देवीको पावन पीठ : शाली नदी
प्रोफाईल खबर
९ माघ २०८२, शुक्रवार
News Summary
This Summary is Generated by AI & Editorially reviewed.- शाली नदी क्षेत्र श्रीस्वस्थानी व्रत कथाको प्रमुख केन्द्र हो, जहाँ पौषशुक्ल पूर्णिमादेखि माघशुक्ल पूर्णिमासम्म व्रत, स्नान र पूजा गरी मनोकामना पूरा हुने विश्वास गरिन्छ।
- यो व्रतले नारी आस्था, धैर्य, तपस्या, र आफ्नो कर्तव्यमा अडिग रही समाज तथा सृष्टिको कल्याण गर्ने गहिरो सन्देश दिन्छ।
पौषशुक्ल पूर्णिमादेखि एक महिनासम्म नेपाली हिन्दु समाजमा श्रद्धा र भक्ति साथ घर–घरमा भनिने श्रीस्वस्थानी व्रत कथाको केन्द्र मानिने पवित्र स्थल हो— शाली नदी क्षेत्र। यो नदी काठमाडौँ उपत्यकाको ऐतिहासिक सहर साँखु (हाल शङ्खरापुर नगरपालिका) बाट करिब डेढ किलोमिटर पूर्वतर्फ अवस्थित छ। शाली नदीलाई श्रीस्वस्थानी देवीको पावन पीठका रूपमा विशेष मानिन्छ।
पौषशुक्ल पूर्णिमादेखि माघशुक्ल पूर्णिमासम्म यहाँ श्रद्धालु भक्तजनहरूले श्रीस्वस्थानी देवीको व्रत, उपासना र आराधना गर्ने परम्परा छ। स्कन्दपुराण अन्तर्गतको केदारखण्डमा वर्णन भएअनुसार, प्रत्येक हिन्दु धर्मावलम्बीका घरघरमा स्वस्थानी देवीको व्रत बस्ने, कथा वाचन गर्ने र श्रवण गर्ने परम्परा सत्ययुगदेखि नै चल्दै आएको विश्वास गरिन्छ।
स्वस्थानी व्रत कथाअनुसार, सत्ययुगमा हिमालय पुत्री पार्वतीले भगवान् महादेवलाई पति रूपमा प्राप्त गर्न कठोर तपस्या गर्दै यही व्रत गरेकी थिइन्। यही व्रतको प्रभावले महादेव प्रसन्न भई पार्वतीलाई अर्धाङ्गिनीका रूपमा स्वीकार गर्नुभएको कथन छ। त्यसै कारण स्वस्थानी व्रतलाई नारी आस्था, धैर्य र तपस्याको अनुपम उदाहरणका रूपमा लिइन्छ।
माघ महिनामा गरिने स्नानलाई विशेष महत्व दिइन्छ। शाली नदीमा स्नान गरी नजिकै अवस्थित हरिहरको पूजा, आराधना तथा स्वस्थानी देवीको उपासना गरेमा इच्छित फल प्राप्त हुने जनविश्वास छ। शाली नदीको जल अर्चन गर्दा मात्र पनि शरीरका रोग निवारण हुने, आरोग्य प्राप्त हुने, तनमा कान्ति र मनमा शान्ति प्राप्त हुने विश्वास रहिआएको छ।
स्वस्थानी कथामा उल्लेख भएअनुसार, कहिल्यै रूपविहीन ठानिएकी चन्द्रावतीले यही क्षेत्रमा बसेर व्रत उपासना गरेपछि सुन्दर रूप, हराएको पति नवराज र राजसी जीवन प्राप्त गरेकी थिइन्। त्यस्तै, गोमा नामकी ब्राह्मणीले हराएको पुत्र प्राप्त गरिन् भने बिछोडमा परेका नाग–नागिनीको पुनर्मिलनसमेत यही व्रतको फलस्वरूप भएको कथन पाइन्छ। त्यसैले धन, सौभाग्य, सन्तान, वैवाहिक सुख र वैभव चाहने भक्तजनहरू आज पनि शाली नदी क्षेत्रमा बसेर स्वस्थानी व्रत गर्ने गर्छन्।
हरेक वर्ष हजारौँ व्रतालुहरू शाली नदीमा स्नान गर्न आउने गर्दछन्। व्रत बस्दा हातगोडाका नङ काटी, शुद्ध भई, एकभक्तिले रही, नित्य महादेवको पूजा गर्दै ठूलो श्रद्धाका साथ व्रत उपासना गरिन्छ। व्रतकै क्रममा भक्तजनहरू चाँगुनारायण, पनौती र पशुपतिक्षेत्रसम्म दर्शन गर्न पुग्ने परम्परा पनि रहिआएको छ। माघशुक्ल पूर्णिमाको दिन व्रत साङ्गे गरी विशेष यज्ञ सम्पन्न गरिन्छ।
माघ महिनामा शाली नदी क्षेत्र र साँखु सहर नयाँ दुलहीझैँ सिँगारिन्छ। प्राचीन कालमा साँखुलाई लावण्य देश भनिन्थ्यो। स्वस्थानी कथाका नायक नवराजले यही क्षेत्रमा राज्य गरेको विश्वास गरिन्छ। कतिपय इतिहासकारका अनुसार यहाँ कुनै समय शङ्खदेव नामक राजाले शासन गरेका थिए। त्यसैको आधारमा यस क्षेत्रलाई शङ्खपुर, पछि शङ्खरापुर भनिन थालियो, जुन अपभ्रंश हुँदै आज साँखु नामले चिनिन पुगेको हो।
शाली नदी क्षेत्रमा प्रसिद्ध माधवनारायणको मूर्ति, ठूला पाटी–पौवा र सत्तलहरू अवस्थित छन्। यहाँ वर्षभरि नै कथा–प्रवचन भइरहन्छ। नदीबाट करिब चार सय मिटर दक्षिणतर्फ चन्द्रावतीको शिला, डोली बोकेका डोलेहरू लडेर बनेका शिलाहरू तथा चन्द्रावती बसेको कुटी आज पनि देख्न सकिन्छ। जनविश्वास अनुसार, स्वर्गबाट अप्सरा तथा देवगणहरू यहाँ माघ स्नान गर्न आउने भएकाले यो क्षेत्र अत्यन्त पुण्यभूमि मानिन्छ।
श्रीस्वस्थानी देवीको स्वरूप अत्यन्त दिव्य मानिन्छ। देवी सुवर्णवर्णकी, तीन नेत्रधारी, प्रसन्न मुद्रामा विराजमान, कमलनयनी, सिंहासनारूढ र चतुर्भुजा हुनुहुन्छ। उहाँका एक हातमा नीलकमल, अर्काे हातमा शङ्ख, अर्को हातमा ढाल र अर्को हातमा वरदमुद्रा रहेको जनविश्वास छ। यस्तो स्वरूप भएकी देवीले आफ्ना भक्तजनहरूको मनोकाङ्क्षा पूरा गर्नुहुन्छ भन्ने अटुट विश्वास रहिआएको छ।
‘स्वस्थानी’ शब्दको शाब्दिक अर्थ— आफ्नो स्थान, कर्तव्य र मर्यादामा अडिग रहनु हो। आ–आफ्नो भूमिका इमानदारीपूर्वक निर्वाह गर्दा, पथभ्रष्ट नहुँदा र धर्ममार्गमा अडिग रहँदा समाज र सम्पूर्ण सृष्टिको कल्याण हुन्छ भन्ने गहिरो सन्देश स्वस्थानी व्रत कथाले दिन्छ।
यसरी शाली नदी क्षेत्र केवल धार्मिक स्थल मात्र नभई आस्था, संस्कृति, इतिहास र जीवन दर्शनको जीवित संगमका रूपमा आज पनि उत्तिकै श्रद्धासाथ पूजित छ।


प्रोफाईल खबर