२६ फागुन २०८२, मङ्गलवार

गगनको राजीनामा होइन १५ औँ महाधिवेशनको मिति घोषणा जरुरी : किरण गिरी,

प्रोफाईल खबर २६ फागुन २०८२, मङ्गलवार

नेपाली कांग्रेस विशेष महाधिवेशनबाट २०८२ माघ-१ गते  निर्वाचित नेतृत्वले पार्टीको नीति , कार्यक्रम र एजेन्डाको खाका स्पष्ट पारेर ५० दिनमा १६५ निर्वाचन क्षेत्रमा आमनिर्वाचनको सामना गर्‍यो त्यो आफैँमा अत्यन्तै सफल र सराहनीय कार्य भएको छ । 

विशेष महाधिवेशनको  निर्णय र कदम नेपाली कांग्रेसको जीवनमा अत्यन्तै आवश्यक थियो र भयो । विशेष महाधिवेशन अपरिहार्य थियो, अनिवार्य थियो । समयको चाप, युवा र नयाँ पुस्ताको दबाब, भावना र आकांक्षा बमोजिम एक वर्ष अगाडि नै नेपाली कांग्रेसको नेतृत्व परिवर्तन हुनु जरुरी थियो । त्यहाँनेर हामी चुकेकै हो । अझै पनि हामी समग्रमा विशेष महाधिवेशनको नेतृत्व र निर्णयलाई आत्मसात् गर्न सकिरहेका छैनौँ भने त्यो राजनीतिक बचपनमात्र हो ।
 
नेपाली कांग्रेस परिवर्तन त भयो तर निकै ढिलो गरेर । समय निर्मम हुन्छ, प्रतीक्षा गरेर बस्दैन । २०७२ देखि नै कांग्रेस बाटो छोड्दै हिँड्न थालेको थियो । कहिले माओवादी, कहिले एमालेको बुख्याँचा बोकेर हिँड्यो । त्यसको परिणति आजको चुनावी परिणाम हो । भ्रष्टाचार, कुशासन र परिवारवादमा चुर्लुम्म डुबेको नेतृत्वबाट रेस्क्यु गरी विशेष महाधिवेशनबाट सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाशको प्रयासमा आज कांग्रेस प्रत्यक्षतर्फ १८ क्षेत्रमा विजय भएको छ भनेर समानुपातिकतर्फ १९ सांसद विजय हुने अवस्था छ । 

देउवा समूहको बहिष्कार र असहयोग बाबजुद ३७ स्थान प्राप्त गर्दै रहेको कांग्रेसलाई अब राजीनामा होइन -१५ महाधिवेशनमा लैजानु आवश्यक छ । जो जसले अहिले सभापति गगन थापाको राजीनामा मागिरहनु भएको छ उहाँहरूले रूख चिन्ह मा नै मत हाल्नु भयो कि, भएन ? त्यो चाहिँ गम्भीर र सोचनीय सवाल बनेको छ ।
 
चुनाव शान्तिपूर्ण र सहजरूपले सम्पन्न भयो । यो चुनावको सफलतामा कांग्रेसका दुई नेताहरू सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मा  सुझबुझपूर्ण भूमिका कसैले नकार्न चाहेर पनि सम्भव छैन । ओली, देउवा र पूर्वराजा ज्ञानेन्द्र चुनावको विपक्षमा थिए । तर यी नेपाली कांग्रेसका दुई युवा नेताहरू  सभापति गगन थापा र उपसभापति विश्वप्रकाश चट्टान बनेर चुनावको पक्षमा उभिए । 

उनीहरूको यो सत्प्रयास र योगदान नहुँदो हो त चुनाव सम्भव थिएन । संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र सुचारु हुन पाउने थिएन । चुनाव राम्रोसँग सम्पन्न भयो । मुलुकले संवैधानिक र राजनीतिक निकास पायो । अहिलेलाई यतिमात्र ...। 

अब तत्काल केन्द्रीय कार्यसमिति बैठक बसेर आमनिर्वाचनमा प्राप्त परिणाम र पुराना नेताहरूले खेलेका भूमिकाको निर्मम समीक्षा र विश्लेषण गर्दै पार्टीको भावी कार्यक्रम र रणनीति बनाएर अगाडि बढ्नु पर्दछ । अब  छिटोभन्दा छिटो - १५ औँ महाधिवेशन तयारीमा जुट्नु हामी सबैको अनिवार्य दायित्व र जिम्मेवारी हो ।

म फेरि पनि भन्छु, राजीनामा होइन , १५ औँ महाधिवेशन जरुरी । 

जनता र आम कार्यकर्ताको आशा , भरोसा र पूर्णविश्वास । नेपाली कांग्रेस, चुनाव चिन्ह रूख, गगन थापा र विश्वप्रकाश जय नेपाल ।

(गिरी कांग्रेसका पूर्व केन्द्रीय सदस्य तथा महासमिति सदस्य हुन्)

लेखकको बारेमा

प्रोफाईल खबर

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट