यातायात विज्ञ आशिष गजुरेल संसदमा, सिन्धुली–२ बाट प्रभावशाली जित
आशिष गजुरेल -
प्रोफाईल खबर
२४ फागुन २०८२, आइतवार
News Summary
This Summary is Generated by AI & Editorially reviewed.- ट्राफिक व्यवस्थापनका विज्ञ आशिष गजुरेल राष्ट्रिय स्वतन्त्र पार्टीबाट सिन्धुली-२ मा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन्।
- यातायात सुधार र सडक सुरक्षाका प्रखर अभियन्ता गजुरेलबाट संसदमा यस क्षेत्रमा दीर्घकालीन भूमिकाको अपेक्षा गरिएको छ।
यातायात र ट्राफिक व्यवस्थापनका विज्ञ आशिष गजुरेल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। प्रतिनिधिसभा निर्वाचन २०८२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट सिन्धुली–२ बाट उम्मेदवार बनेका गजुरेलले नेकपाका प्रभावशाली उम्मेदवार लेखनाथ दाहाललाई पराजित गर्दै संसदमा प्रवेश गरेका हुन्।
अन्तिम मतपरिणाम अनुसार गजुरेलले १७ हजार ९४० मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी दाहालले १४ हजार ७८० मत पाए। मतगणनाको सुरुवाती चरणमा केही पछि परे पनि अन्त्यमा गजुरेलले तीन हजारभन्दा बढी मतान्तरले जित निकाल्न सफल भए।
यस क्षेत्रमा एमालेका मनोज जंग थापाले ११ हजार ६०६ मत र नेपाली कांग्रेसकी सुशिला थिङले ६ हजार ७६० मत प्राप्त गरेका छन्।
नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) का पूर्व महासचिव गजुरेल यातायात व्यवस्थापन र सडक सुरक्षाका विषयमा प्रखर आवाजका रूपमा चिनिन्छन्। जर्मनीको टेक्निकल युनिभर्सिटी अफ म्युनिखबाट ट्रान्स्पोर्टेशन सिस्टममा मास्टर्स गरेका उनले सडक दुर्घटना न्यूनीकरण र यातायात सुधारका विषयमा निरन्तर लेख र अभियान चलाउँदै आएका छन्।
विशेषगरी सार्वजनिक यातायात सुधार, ट्राफिक अनुशासन र सडक सुरक्षामा उनको स्पष्ट योजना रहेको बताइन्छ। यही कारण रास्वपाले उनलाई नीतिगत तहमा प्राविधिक नेतृत्व दिन सक्ने सक्षम व्यक्तिका रूपमा अघि सारेको हो। अब संसदमा पुगेसँगै उनले यातायात क्षेत्रमा दीर्घकालीन सुधारका लागि प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ।


प्रोफाईल खबर