फागुन २१ पछिका पाँच वर्ष कांग्रेसको नेतृत्वमा भ्रष्टाचारविरुद्ध ‘महासंग्राम’ : गगन थापा
प्रोफाईल खबर
२७ माघ २०८२, मङ्गलवार
News Summary
This Summary is Generated by AI & Editorially reviewed.- कांग्रेस सभापति गगन थापाले आगामी पाँच वर्ष कांग्रेसको नेतृत्वमा भ्रष्टाचार र कुशासनविरुद्ध निर्णायक ‘महासंग्राम’ गर्ने र विधिको शासन स्थापित गर्ने बताए।
- उनले नागरिक असन्तुष्टिको जरो बुझ्नुपर्ने, कानुन सबैका लागि समान हुनुपर्नेमा जोड दिँदै कार्यकर्तालाई सामाजिक सञ्जाल छाडेर घर-घरमा गएर संवाद गर्न आग्रह गरे।
नेपाली कांग्रेसका सभापति गगन थापाले फागुन २१ पछिको आगामी पाँच वर्ष कांग्रेसको नेतृत्वमा भ्रष्टाचार र कुशासनविरुद्ध निर्णायक ‘महासंग्राम’ हुने बताएका छन्। सोमबार विराटनगरमा आयोजित कोशी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले देशको सुधार कुनै व्यक्तिको चमत्कारबाट सम्भव नहुने स्पष्ट पारे। विगतमा राज्यका संस्थाहरूलाई कमजोर बनाइएको स्वीकार गर्दै अब ती संस्थाहरूलाई बलियो बनाएर विधिको शासन स्थापित गरिने उनले बताए।
सभापति थापाले कानुन सबैका लागि समान हुनुपर्नेमा जोड दिँदै सत्ताको नजिक भएको, लोकप्रिय भएको वा शक्तिशाली भएको आधारमा कसैका लागि फरक कानुन नहुने दृढ प्रतिबद्धता व्यक्त गरे। कांग्रेसको पहिलो र प्रमुख प्रतिबद्धता संविधानको निरन्तरता भएको उल्लेख गर्दै उनले यो संविधान धेरै संघर्ष, त्याग र उतारचढावपछि प्राप्त भएको बताए। संविधानमाथि हतार र आवेगमा चलखेल गर्दा देशले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी पनि उनले दिए। संविधानभित्र सुधार आवश्यक भए पनि त्यो संवाद, सहमति र लोकतान्त्रिक प्रक्रियाबाट मात्र सम्भव हुने उनको भनाइ थियो।
भदौ २३ र २४ मा भएका घटनालाई सभापति थापाले केवल आकस्मिक हिंसा नभई नागरिक असन्तुष्टिको विस्फोटका रूपमा व्याख्या गरे। ती घटनापछि देखिएका राजनीतिक प्रतिक्रियालाई उनले दुई प्रवृत्तिमा विभाजन गरे। एउटा प्रवृत्ति नागरिकमा असन्तुष्टि नै छैन भन्दै सबै घटनालाई षड्यन्त्र र घुसपैठको परिणाम ठान्ने र अर्को प्रवृत्ति युवाको मृत्युबाट राजनीतिक मुनाफा खोज्ने रहेको उनको टिप्पणी थियो। कांग्रेस यी दुवै प्रवृत्तिको विरोधमा रहेको स्पष्ट गर्दै उनले कांग्रेस न अस्वीकार गर्ने न मुनाफा खोज्ने पार्टी भएको बताए।
सभापति थापाले असन्तुष्टिको जरो कहाँ छ भन्ने प्रश्न कांग्रेसले सुन्ने र बुझ्ने साहस राख्ने दाबी गरे। सडकमा उत्रिएका युवामात्र होइन, घरभित्र बसेका नागरिक पनि असन्तुष्ट रहेको यथार्थ स्वीकार गर्नुपर्ने उनले बताए। कमजोरी स्वीकार गर्न नसक्ने कायर हुने र स्वीकार गरेर सुधारतर्फ अघि बढ्ने साहसी हुने उनको भनाइ थियो।
कांग्रेसको इतिहास नै देश सम्हाल्ने निर्णयहरूको इतिहास भएको दाबी गर्दै उनले २०३३ सालमा बीपी कोइराला र गणेशमान सिंहले पार्टीभन्दा देशलाई प्राथमिकता दिएको, माओवादी हिंसाको समयमा सबैभन्दा बढी क्षति बेहोरे पनि कांग्रेसले देशलाई हिंसाबाट बाहिर निकाल्ने भूमिका खेलेको र २०७२ मा आफ्नै क्षति स्वीकार गरेर राष्ट्रिय सहमति रोजेको स्मरण गरे।
कांग्रेस पुरानो फालेर नयाँ ल्याउने अवधारणामा नबाँधिने स्पष्ट गर्दै उनले ‘चेन्ज र कन्टिन्युटी’ नै कांग्रेसको चरित्र भएको बताए। समाजका फरक–फरक समुदाय र पुस्तालाई जोड्ने क्षमता कांग्रेसको सबैभन्दा ठूलो शक्ति भएको उनको निष्कर्ष थियो। साथै, आगामी पाँच वर्ष निर्दोष युवाले गोली खानुपर्ने र सिंहदरबार जल्ने अवस्था नआउने दाबी गर्दै उनले नेता–कार्यकर्तालाई सामाजिक सञ्जालमा सीमित नभई घर–घर पुगेर संवाद गर्न आग्रह गरे।


प्रोफाईल खबर