२१ माघ २०८२, बुधवार

देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ : प्रचण्ड

प्रोफाईल खबर ९ माघ २०८२, शुक्रवार

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश अझै पनि संकटबाट पूर्ण रूपमा मुक्त नभएको बताएका छन्। नेकपा एमाले ओखलढुंगा जिल्ला समिति तथा नेपाली कम्युनिस्ट पार्टीमा समायोजन कार्यक्रमलाई सम्बोधन गर्दै उनले बलियो राष्ट्रिय शक्ति निर्माण र जनतामा दह्रो एकता कायम गर्न नसकिए फेरि पनि देश दुर्घटनातर्फ जान सक्ने चेतावनी दिए।

उनले भने, “देश अझै संकटमै छ। दुर्घटना अब पूरै टरिसक्यो भन्ने अवस्था छैन। यदि बलियो राष्ट्रिय शक्ति निर्माण गर्न सकिएन र जनतामा दह्रो एकता पैदा गर्न सकिएन भने फेरि पनि दुर्घटना हुन सक्छ। देशलाई अनिष्टतर्फ जानबाट रोक्ने जिम्मेवारी लिनु आवश्यक छ भन्ने सोचका साथ हामीले एकताको अभियान सुरु गरेका हौं।”

प्रचण्डले नेकपा एमालेभित्र रहेका देशभक्त र वामपन्थी शक्तिहरूलाई पनि नेपाली कम्युनिस्ट पार्टीमा समायोजन हुने ढोका ओखलढुंगाबाट खुलेको उल्लेख गर्दै एमाले नेतृत्वलाई भ्रममा नपरी राष्ट्रिय शक्ति निर्माणको महाअभियानमा सहभागी हुन आग्रह गरे।

“नेकपा एमालेभित्र रहेका तमाम देशभक्त र वामपन्थीहरू नेपाली कम्युनिस्ट पार्टीमा समायोजन हुने ढोका ओखलढुंगाले खोलेको छ। म एमाले नेतृत्वलाई साँचिकै राष्ट्रिय शक्ति निर्माणको यो महाअभियानमा सामेल हुन अपिल गर्दछु,” उनले भने।

कार्यक्रममा नेकपा सहसंयोजक माधवकुमार नेपालले जनचाहना र जेन–जी पुस्ताले खोजेजस्तै राजनीतिमा देखिएका विकृति अन्त्य गर्दै समाजमा रहेका विसंगतिहरू उन्मूलन गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले भने, “जनभावना र अहिलेको जेन–जी पुस्ताले खोजेअनुसार राजनीतिमा देखिएका विकृति अन्त्य गर्ने, समाजका विसंगतिहरू हटाउने र जनताको चाहनाअनुसार काम गरेर देखाउनेछौं।”

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट