सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि स्थानिय सरकार जिम्मेवार बन्नु पर्ने विज्ञहरुको सुझाव

१६ जेष्ठ २०८२
Avatar
प्रोफाइल खबर

काठमाडौं, १६ जेठ : सुर्तीजन्य पदार्थ नियन्त्रण र निगमनमा स्थानिस सरकार जिम्मेवार बन्नु पर्नेमा विज्ञहरुले जोड दिएका छन् । काठमाडौं महानगरपालिका वडा नम्बर –७, स्वास्थ्य मन्त्रालय र हेल्थ टुडे मिडियाको संयुक्त आयोजनामा शुक्रबार राजधानीमा भएको सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन सम्बन्धि सरोकारवालाहरुबिचको अन्तरक्रियामा विज्ञहरुले स्थानिय सरकारको जिम्मेवारी प्रति सुझाव दिएका छन् । अन्तरक्रियामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सूचना अधिकारी डा.भक्तबहादुर केसीले सुर्तीजन्य पदार्थ नियन्त्रण एवं निगमनमा संघिय सरकारको प्रयासले मात्र संभव नहुने बताउदै स्थानिय सरकारले सुर्तीजन्य पदार्थ नियन्त्रण र निगमनलाई प्राथमिकतामा राख्नु पर्ने बताए । नेपालमा नसर्ने रोगको बढ्दो प्रकोपको कारण मध्ये सुर्तीजन्य पदार्थको सेवन पनि प्रमुख भएको बताउदै डा. केसीले कानूनले सार्वजनिक स्थालमा सुर्तीजन्य पदार्थ सेवन निषेध गरे पनि यसको व्यवहारमा पालना हुन नसकेको औल्याए । सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको सेवनमा रोक लगाउन स्थानिय सरकारले कदम चाल्नु पर्ने र यसले धेरै हदसम्म कानून कार्यन्वयन हुने डा.केसीले जोड दिए । उनले भने, ‘ नेपालमा वर्षेनी ३० हजार मानिसको मृत्युको कारण सुर्तीजन्य पदार्थको सेवन हो । यो तथ्यांकमा सबैले ध्यान दिन’ आवश्यक छ । ’ नेपाल विकास अनुसन्धान प्रतिष्ठानका अनुसन्धान विज्ञ डा.जयकुमार गुरुङले सुर्तीजन्य पदार्थमा करको दर अत्यािधक बढाउनु पर्नेमा हिजो ल्याएको बजेटमा एकदमै न्युन रुपमा कर बढाएकोमा आपत्ति व्यक्त गरे । डा. गुरुङले खुद्रा व्यापारीले अनिवार्य रुपमा वडामा दर्ता गराएर मात्र सुर्तीजन्य पदार्थको विक्रीवितरण गर्ने व्यवस्था गर्ने र सार्वजनिक स्थलको १०० मिटर दूरीभित्र बेचविखन गर्न नदिएर स्थानिय निकायले यसको नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने बताए । डा.गुरुङले भने, ‘काठमाडौं महानगरपालिकाका सवै पालिकाहरुले एकिकृत रणनीतिक योजना बनाएर अगाडि बढ्नु पर्छ । ’ उनले इलाम नगरपालिका र वालिङ नगरपालिकाले उत्कृष्ठ काम गरेको जानकारी दिदै काठमाडौं महानगरले पनि उदाहरणीय कार्य गर्न सक्ने आशा व्यक्त गरे ।
काठमाडौं महानगरपालिका वडा नम्बर– ७ का वडा अध्यक्ष विमल कुमार होडाले आफु चार दशकदेखि सुर्तीजन्य पदार्थको नियन्त्रण र निगमन सक्रिय रुपमा लागिरहेको बताउदै स्थानिय सरकारको जनप्रतिनिधिका रुपमा आफुले खेल्नु पर्ने भूमिका खेलिरहेको दावी गरे । सरकारले बन्द भएको जनकपुर चुरोट कारखाना समेत फेरि खोल्ने बजेट मार्फत गरेको घोषणाको विरोध गर्दे वडाअध्यक्ष होडाले चुरोट कारखाना खोल्ने भन्दा औषधि कम्पनी खोल्नु पर्ने बताए । सुर्तीजन्य पदार्थ नियन्त्रणमा आफुले महानगरपालिकाको वडा नम्बर –७ लाई नमुना वडाको रुपमा विकास गर्न पछि नपर्ने होडाले बताए । वडा नम्बर – ७ की सदस्य रुपा थापाले जनताको स्वास्थ्यलाई स्थानिय सरकारले सधै प्राथमिकतामा राखेको बताउँदै सुर्तीजन्य पदार्थको सेवन नियन्त्रण गर्न जनचेतनामा विशेष ध्यान दिएको बताइन । कार्यक्रममा वरिष्ठ स्वास्थ्य पत्रकार एवं हेल्थ टुडे मिडियाका अध्यक्ष पदमराज जोशीले सुर्तीजन्य पदार्थ सेवन गर्नु फाइदाजनक होइन भन्ने कुरा धेरैलाई जानकारी भएपनि चेतनाको अभावमा व्यवहारमा उक्त जानकारी लागु गर्न नसकिएको बताए । सुर्तीजन्य पदार्थको सेवन न्युनिकरणमा नागरिक समाज, सरोकारवाला, मिडिया र स्थानिय सरकारले सहकार्य गरेर अगाडि बढ्नु पर्ने आवश्यकता रहेको स्वास्थ्य पत्रकार जोशीले बताए । कार्यक्रममा सहभागीहरुले सोधेका विभिन्न जिज्ञाषाहरुको विज्ञहरुले उत्तर दिएका थिए । कार्यक्रममा ५ जनाले आफुले आजकै मितिदेखि सुर्तीजन्य पदार्थको सेवन त्यागेको घोषणा गरेका थिए ।

Advertisement:

प्रतिक्रिया दिनुहोस्: