
श्रावण शुक्लपूर्णिमाको दिनलाई बोलीचालीको भाषामा जनै पूर्णिमा भनिन्छ । यसदिन तागाधारीहरूले यज्ञोपवीत धारणा गर्ने भएकाले यसको आफ्नै महत्व रहेको छ । यस दिन ऋषिहरूको तर्पण गर्ने भएकाले ऋषितर्पणी पर्व पनि भनिन्छ । यस दिन गोसाईंकुण्ड, मणिचूडकुण्ड, महादेव पोखरी, कुम्भेश्वर पोखरी आदि जलाशयहरूमा स्नानमेला लाग्दछ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले उनीहरूको रक्षार्थ रक्षाबन्धन तयार गरी सबै देवताहरूको रक्षा गरेको सम्झना र परम्परा स्वरूप यस दिन यज्ञोपवीत (जनै) फेर्ने र रक्षाबन्धन गर्ने (डोरो बाँध्ने चलन चलेको हो।
रक्षाबन्धनविधि
श्रावण शुक्ल चतुर्दशीका दिन हातगोडाका नङ काटी, कपाल खौरेर चोखो आभिष (हविष्यान्न) एकछाकमात्र भोजन गरी, शुद्ध भई हविष्य बस्ने । भोलिपल्ट पूर्णिमाका दिन बिहान सबेरै ब्रह्म मुहूर्तमा उठेर नदी, कुवा, इनार वा जलाशयमा गई जौ, तिल, कुश, गोबर, गहुँत, घ्यू, दही, दुबो, अक्षता, खरानी, दतिवन, फूल र सप्त मृत्तिका । सातवरी माटो) शरीरमा तालुदेखि पैतालासम्म लेपन गरी विधिपूर्वक ३ पटक स्नान गर्ने। यस्तो स्नानलाई गणस्नान वा श्रावणीस्नान भनिन्छ। त्यसपछि पवित्र वस्त्र वा धोती पहिरेर वर्ष भरिका दिनको सम्झनास्वरूप ३६५ पटक गायत्री मन्त्रको जप गर्ने र त्यसपछि बाबुआमा हुनेले विधिपूर्वक ब्रह्मा, पृथ्वी, धरती, आफ्नो देश र राष्ट्राध्यक्षलाई जलदान गर्ने । त्यसपछि अरुन्धतीसहित सप्तऋषिहरूलाई तर्पण दिने । अनि बाबुआमा नहुने श्राद्धाधीकारीहरूले आफ्ना पितृहरूलाई तर्पण दिने । त्यसपछि सूर्योदयलाई पर्खने र सूर्य उदाउन लागेपछि अर्धोदित सूर्यलाई नमस्कार र बन्दना गरी जलार्ध दिने । यस कार्यलाई उपाकर्म भनिन्छ ।
त्यहाँबाट नजिकैको शिव मन्दिरमा गएर वा नभए आफ्नो घरमा नित्य पूजा गर्ने पूजास्थलमा रुद्रार्चन विधिद्वारा नयाँ यज्ञोपवीत (जनै) मन्त्रणा गर्न। रक्षा बन्धन (काँचो धागोको तीन डोराद्वारा बनाइएको धागो) लाई मन्त्रणा गर्ने । अनि पुरानो जनैलाई त्याग गरी नयाँ जनै लगाउने काम गर्ने।
पुरानो जनैलाई त्याग्दैछु भनी उसलाई सुनाउने मन्त्र-
सुतके मृतके चैव गते मासचतुष्ठये ।
नव यज्ञोपवीतानी धृत्वा जीर्णानी संत्यजेत् ।।
पुरानो जनै त्याग गर्दै भन्ने मन्त्र –
एतावद्दिन पर्यन्तं ब्रह्मत्वं धारितं मया ।
जीर्ण त्वात् त्वत्परित्यागो गच्छ सूत्र यथा सुखम् ।।
त्यसपछि नयाँ मन्त्रणा गरिएको जनै धारण गर्दै भन्ने मन्त्र
यज्ञोपवितं परमं पवित्रम् प्रजापतेर्येत्सहजं पुरस्तात् ।
आयुष्य मग्रं प्रतिमुन्वशुभ्रं यज्ञोपवितम् बलमस्तुतेज : ।।
पुरानो जनै चुंडाल्दै नयाँ जनै लगाउने कार्य सँगै हुनुपर्छ। अर्थात् शरीरमा जनै टुट्नु हुँदैन र दुई जोर जनै सँगै धारण गर्नु पनि हुँदैन । यस दिन धारण गरेको जनै बढीमा चार महिनासम्म मात्र लगाउनु हुन्छ। चार माहिनाभित्र जूठो वा सूतक परेमा फेर्नुपर्छ । ४ महिनाभित्र जूठो सूतक नपरेमा पनि चार महिना पुग्ने दिनमा अर्को जनै फेर्नुपर्छ । शिवजीको प्रिय महिना श्रावण महिनाको पनि शुक्ल पूर्णिमा तिथि अत्यन्त पवित्र दिन हो । यस दिनको यो पर्व वर्ष भरिका कार्यलाई शुद्धीकरण गर्ने पर्व हो । जनै पूर्णिमा वा रक्षाबन्धन वा ऋषितर्पणीका नामले परिचित यो पर्वमा वर्षभरि वैदिक कार्य गर्दा जानीनजानी भएका वैदिक त्रुटीहरूलाई सच्याउने वा तिनलाई शुद्धीकरण गरी पूर्ण गर्ने भएकाले यस दिनको विशेष महत्व छ । वर्षभरिमा दुष्कर्म नहुन वा हुन गएका छन् भने पनि तिनबाट मुक्ति पाउँ भनी गरिने क्षमा कार्य र शुद्धिकर्म पनि हो यसले आर्य संस्कारलाई विधिसम्मत तरिकाले पुनः ताजकीकरण, सामर्थशील र ऊर्जावान् बनाउने काम गर्दछ । यसदिन गरिने गङ्गास्नान, पितृतर्पण, देवतर्पण, उत्सर्जन, उपाकर्म, यज्ञोपवीत मन्त्रण, यज्ञोपवीत धारण, रक्षाबन्धन आदि कार्यले यसदिनको महत्व दर्शाउँछ । आज मन्त्रेको जनैले ब्रह्मचर्य, सदाचार, सत सामर्थ्य र तेजश्वीता प्राप्त हुने विश्वास गरिन्छ ।
यज्ञोपवीत (जनै)
काँचो धागोको तिन डोराबाटेर विधिपूर्वक शिखा बनाई वैदिक यज्ञ कर्मद्वारा शुद्ध पारी बनाइएकाले जनैलाई यज्ञोपवीत भनिएको हो । यसमा रहने दुईवटा शिखाका छ डोराहरूमध्ये एउटा शिखामा रहेका तीन वटा डोरालाई ब्रह्मा, विष्णु र महेश्वर भनिन्छ भने अर्को शिखामा रहेका तीन वटा डोराहरूलाई कर्म, उपासना र ज्ञानको प्रतीक मानिन्छ। जनैका ती डोराहरूलाई तन्तु देवता मानेर ॐ कार, अग्नि, नाग, चन्द्रमा, पितृ, ब्रह्मा, वायु, यम र सूर्य गरी नौ-नौ वटा देवताको पूजा गरिन्छ भने जनैका शिखा (गाँठो) लाई ब्रह्मा, विष्णु र महेश्वर मानेर पूजा गरिन्छ ।
जनै लगाउँदा सर्वप्रथम विष्णुका २४ नामले धागो संगाल्नुपर्दछ भने हरेक ३ डोरामा ९/९ डोराका दरले २७ डोराबाटेर वैदिक मन्त्रोच्चारण गर्दै पाँच पटक दैवता – ॐकार, अग्नि, नाग, चन्द्रमा, पितृ, ब्रह्मा, वायु, यम र सूर्यको नाम जपेर अन्तमा सबै देवतालाई सम्झेर गाँठो पार्नुपर्दछ । यसरी तयार पारेको जनै एउटा हुन्छ भने त्यसै गरी बनाएको अर्को समेत मिलाएर दुई वटाको एक जोर जनै पूर्ण हुन्छ । यसलाई रुद्रार्चन विधिद्वारा पवित्र पारेर मात्र लगाउनुपर्छ । यज्ञसूत्र (डोरो) काँचो धागोलाई सँगालेर तीन वटा धागोको नटुटाईकन बातेर डोरो वा रक्षाबन्धन (यज्ञसूत्र) बनाइन्छ । जनै पूर्णिमाको दिन जनै मन्त्रंदा यस डोरोलाई बेसार पानीमा भिजाएर सँगै राखेर रुद्रार्चन विधिद्वारा मन्त्रणा गरेपछि मात्र यो रक्षाबन्धन योग्य हुन्छ। यो रक्षाबन्धन बेसार पानीमा भिजाएकाले पहेंलो भएको हो । यसको बदलामा केशरी वा अन्य पहेंलो रङको प्रयोग गर्नु हुँदैन । बेसार कीटनाशक, लागूनाशक र स्वास्थ्यरक्षक जरीबुटी हो । ऋषितर्पण र यज्ञोपवीतकर्म समाप्तिपछि मात्र रक्षाबन्धन गर्नुपर्छ। जनै पूर्णिमाका दिन विहान यज्ञोपवीतानी कर्म सबै सकेर मात्र रक्षाबन्धन गर्नुपर्ने भएकाले रक्षाबन्धन कार्य अपराह्न अर्थात् २ बजेपछि मात्र गर्नु भन्ने कुरा निर्णय सिन्धुमा यस प्रकार उल्लेख भएको छ ।
ततोज्पराणहृयसये रक्षाषोटलि कांशुभाम् ।
कारये दक्षतै शस्तैः सिद्धार्थेहेमभूषितै: ।।
यसरी वेदोक्त विधिद्वारा तयार गरी मन्त्रोक्त यज्ञोपवीतानी रक्षाबन्धन नाडीमा बाँध्दा भन्ने मन्त्र –
येन बद्धो बलीराजा दानवेन्द्रो महाबल:।
तेनत्वां प्रतिवहनामि रक्षेमा चलमा चल ।
अर्थात् जुन रक्षा सूत्र (डोरो) ले दैत्यराज बलिलाई बाँधिएको थियो, म त्यही रक्षासूत्र(डोरो) ले तिमीलाई बाँध्दैछु । यो रक्षासूत्रले तिम्रो सदा रक्षा गर्नेछ । नाडीमा बाँधिने यस डोरोलाई गाईतिहार (लक्ष्मीपूजा) को दिन नाडीबाट फुकाएर गाईको पुच्छरमा बाँधिदिने चलन छ । यसो गर्नाले मरेपछि त्यसै गाईको पुच्छर समातेर गाईले वैतरणी नदी तारिदिन्छिन् भन्ने मान्यता रहेको छ ।
प्रतिक्रिया दिनुहोस्: