‘नमो बुद्ध’ भन्नाले के बुझिन्छ ?

२६ कार्तिक २०८१
Avatar
प्रोफाइल खबर

नमो बुद्धको अर्थ बुद्धलाई नमस्कार भन्ने बुझिन्छ । अर्को थरीका अनुसार ’अमोइ पुत्र’ शब्दबाट पछि नमो बुद्ध हुन पुगेको भन्ने तर्क रहेको छ।

उहिले परापूर्वकालमा पाँचाल देश (हालको पनौती) मा महारथ नामको धार्मिक राजाले राज्य चलाउँथेँ । उहाँका महाप्रणाद, महादेव र महासत्व नाम गरेका तीन छोराहरू थिए । एक दिन ति तीनै राजकुमारहरू वनमा डुल्दै जादा घनघोर जङ्गलको बिचमा पुगेछन् । बाघ, भालुको त्रास बोकी सतर्क हुँदै घुम्दै जाँदा एक कुनामा हलचलै गर्न नसक्ने अवस्थामा ५ वटा बाघको बच्चा (डमरू) हरूले घेरिएर राखेका बघिनीको सामुन्ने पुगेछन् त्यो बघिनी धेरै दिनदेखि खान नपाएकाले दुब्लो र हाड छाला मात्रै भएको थियो ।

Advertisement:

बघिनीको त्यस्तो अवस्था देखेर महासत्वको मनमा महाकरूणा उत्पन्न भयो र मनमनै सोच्न थाले कि अब खान दिनलाई केही छैन र मैले मेरो रगत र मासु खुवाएर भए पनि यी बघिनी र डमरूहरूलाई बचाउँनैपर्छ । आफ्नो शरीर त्यागेर अरूलाई परोपकार गर्ने मौका यही हो । केही समय पछि तिनै जना दाजुभाइ त्यहाँबाट फर्के । तैपनि महासत्वको मन भने खुशी थिएन । उनी दाईहरूलाई छल्दै पुनः बघिनीको सामुन्ने उपस्थित भए र आफ्नो शरीर दान गरे तर बघिनी धेरै दिन देखि केहि खान नपाएकोले निकै कमजोर र हलचल समेत गर्न सकेको थिएन्, त्यसैले गर्दा बघिनी समक्ष महासत्वले शरीर नै भोजनको लागि दान गरे पनि बघिनीले झम्टन सम्म सकेन । झन त्यो अवस्था देखेर महासत्व महाकरूणाले विह्वल भए । त्यस्तो अवस्था देखेर महासत्वले यता उता हतियारहरू खोजे तर केही पनि भेटाएनन् । तब नजिकै रहेको पुरानो बाँसको टुक्राले महासत्वले आफ्नो शरीरबाट रगत निकाल्दै बघिनी र डमरूहरूलाई पिलाए । त्यसपछि तिघ्राका मासु बघिनी र डमरूहरूलाई काँटदै खुवाए क्रमश अन्य भागका मासुहरू पनि खुवाउँदै गए। ति दुर्बल बघिनी र डमरूहरूलाई आफ्नो शरीरको रगत र मासु खुवाइ केही साहस र बल बढेको देखेर पृथ्वी कम्पमान भयो । सूर्य पनि धमिलिन थाले र आकाशबाट सुगन्ध मिश्रित पुष्पहरू वर्षा हुनथाले साथै देवताहरूले आकाशबाटै बोधिसत्व महासत्वको ठुलो प्रशंसा गर्दै स्तुति पनि गर्न थाले । यसरी बोधिसत्व महासत्वले आफ्नो शरीर बघिनीलाई दान गरी परम आनन्द र परम सुख प्राप्त गर्दै उनी परलोक भए ।

उता दरबारमा महारानीले सपनामा आफ्नो दुईवटै स्तनहरू काटिएको, दाँत झरेको र तीन वटा परेवाको बच्चाहरूलाई बाजले लखेटेको देखेर ब्युझिइन् । यस्तो सपना देख्नु अवश्य पनि नराम्रो संकेत हो । मैले के दुःख भोग्नु पर्ने हो भनि महारानी रूदै कराउँदै राजालाई बिन्ती गर्न पुगिन् । राजा महारथले महारानीलाई आश्वासन दिदै राजकुमारहरूलाई खोज्नुको निमित सैनिकहरूलाई पठाए । त्यति नै बेला राजाले महाप्रणाद र महादेव त्यतैतिर आइरहेको देखे । तर महासत्वलाई चाँहि नदेख्दा राजाको मनमा शंका उत्पन्न भयो । त्यति बेला महाप्रणाद र महादेवले भाई महासत्वसँग भएको वियोगको कुराहरू वृतान्त बताए । महाप्रणाद र महादेवले राजा महारथ समक्ष यो घटना सुनेर राजपरिवारका सबै सदस्यहरू महासत्वको महाकरूणा चित्तलाई सम्झदै रूदै कराउँदै उनको हाडमात्र भएको स्थानमा पुगे । त्यो अवस्था देखेर महारानीले ‘अमोइ पुत्र’ भनेर छोरालाई पुकारे । त्यही अमोइ पुत्र भन्ने शब्दबाट ‘नमो बुद्ध’ हुन पुग्यो भन्ने कथन रहेको छ ।

त्यसपछि राजा र महारानीले धेरै विलाप गरेर आफ्नो छोराको अस्तुलाई पुजा गर्दै, सात वटा सुनको बट्टामा ति अस्तुहरूलाई राखी महारथले त्यहाँ चैत्यको स्थापना गरे । अहिले त्यही स्थानलाई हामीहरू नमो बुद्ध भनि पवित्र धार्मिक स्थलको रूपमा मान्ने गर्छौ ।

त्यही महाकरूणाकारी बोधिसत्व महासत्व नै धेरै कल्पपछि फेरि नेपालको लुम्बिनीमा राजकुमार सिदार्थ गौतमको रूपमा जन्म लिनु भएको कथन छ। त्यसपछी उहाँले गृह त्याग गरि बिहारको बोधगायास्थित कल्पवृक्ष मुनि ६ वर्ष कठोर तपस्या पश्चात बुद्धत्व ज्ञान प्राप्त गरी भगवान बुद्ध तथा सातौ बुद्ध हुनु भएको थियो ।

त्यसैबेलाका पाँचालाका राजा महारथ नै पछि कपिलवस्तुका महाराज शुद्धोधन र महारानी मायादेवीको रूपमा पुर्नजन्म लिनु भएको थियो भने महाप्रणाद मत्रयै बोधिसत्व (भविष्यका मत्रैया बुद्ध), महादेव मन्जुश्री बोधिसत्व, बघिनी महाप्रजापति र ति पाँचवटा डमरूहरू पाँच भद्रवार्गीय भिक्षुहरू हुन् भन्ने बौद्ध दर्शन शास्त्रहरूमा भेटिन्छन्।

प्रतिक्रिया दिनुहोस्: