छठ पर्व, व्रतकथा र वर्तविधि

२२ कार्तिक २०८१
गोबिन्द चन्द्र सुबेदी
गोबिन्द चन्द्र सुबेदी

कार्तिक शुक्ल पञ्चमीका दिन अस्ताएर भोलिपल्ट षष्ठीका दिन उदाउँदो सूर्य भगवान्‌को आराधना र स्वागत गरी मनाइने पर्वलाई षष्ठीपूजा पर्व भनिन्छ । यस पर्वलाई षष्ठीबाट अपभ्रंश हुँदै छठी वा छठ भन्न थालियो । यस पर्वमा कार्तिक शुक्ल पञ्चमीका दिन बेलुका अस्ताउन लागेका सूर्यलाई नमस्कार गरी रातभर नदी, तलाउ वा जलाशयमा जाग्राम बसी भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिई पूजा गरेर विभिन्न प्रकारका फलफूल, मिठाई र सगुनहरू अर्पण गरेर मनाउने गर्दछन्। यो छठ पर्व विशेष गरी नेपालको तराई र भारतका युपी, बिहार, प.बङ्गाल, झारखण्डलगायतका क्षेत्रहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बीले मनाउने महत्वपूर्ण चाड हो । तिहारको लगत्तै चार दिनमै आउने यो पर्वमा षष्ठीमाई भगवतीको पूजाअर्चना गरी आफ्ना पुत्र,पति र परिवारको कल्याणको कामना गरेर मनाउने गरिन्छ ।

वैदिक सनातन हिन्दु धर्ममा सूर्य उपासनाको ठूलो महत्व छ । यस पृथ्वीमा सर्वप्रथम माघ शुक्ल सप्तमीका दिन उदाएका सूर्यनारायणले त्यतिबेलादेखि नै पृथ्वीबासीका लागि प्रकाश र ताप दुवै दिदै आएका छन् । त्यतिबेलादेखि नै अन्धकारलाई हटाई उज्यालो प्रदान गर्ने सूर्यनारायणको व्रत, पूजा र उपासना गर्ने चलन चलेको हो । यो षष्ठी (छठ) पर्व वर्षमा दुई पटक मनाउने गरिन्छ । चैत्र शुक्ल षष्ठी र कार्तिक शुक्ल षष्ठीका दिन । चैत्र शुक्ल षष्ठीमा मनाइने छठलाई सानो छठ र कार्तिक शुक्ल षष्ठीमा मनाइने छठलाई ठूलो छठ भन्दछन् । चैत्रमा मनाइने छठ पर्व सीमित परिवारले मात्र मनाउने गर्न थालेका छन् भने कार्तिकमा मनाउने छठ अझै व्यापक हुँदै गएको छ ।

Advertisement:

व्रतकथा

जुवामा राज्यसहित सबै धनसम्पति हारेर १२ वर्षे भविष्योत्तर पुराणका अनुसार वनवास र १ वर्षे गुप्तवासको सजाय पाएर वनवासमा रहेका बेला पाण्डवहरूलाई वनमा ऋषिमुनिहरू भेट्न आइ रहन्थे । यसरी भेट्न आएका ऋषिमुनिहरू आउँदा कहिलेकहीँ उनीहरूलाई स्वागत गरेर खान दिने कुरा नहुँदा द्रौपदीसहित पाँचै भाइ चिन्तित हुन्थे । यस्तो अवस्थामा के गर्ने भनेर एक दिन द्रौपदीले ऋषि धौम्यसँग सोधिन्। ऋषिले उनको मर्का बुझेर उनलाई अघि यस्तै दुःख च्यवनपत्नी सुकन्यालाई पनि परेको थियो । त्यतिबेला नागकन्याले उनलाई रविषष्ठीको व्रत गरेमा मनोकामना पूर्ण भई सबै प्रकारका सुखभोग गर्न पाइने भनी त्यस व्रतको विधि समेत बताएको र सुकन्याले त्यसैगरी रविषष्ठीको व्रत बसेका कारण च्यवन ऋषिले दृष्टि पुनः प्राप्त गरेको प्रसङ्ग सुनाए र तिमी पनि त्यसरी नै रविषष्ठीको विधिपूर्वक व्रत गर अनि तिम्रा सबै दुःख नाश हुन्छन् भनी बताएकाले द्रौपदीसहित पाँचै पाण्डवहरूले विधिपूर्वक व्रत बसेका थिए भनी पाण्डवका नाती राजा जन्मेजयलाई ऋषि वैसम्पायनले बताएका थिए। त्यस्तै त्रेतायुगमा दशरथ पत्नी कौशल्याले पनि सन्तान नभएकाले यो व्रत बसेर सूर्यनारायणको उपासना गरेका कारण रामचन्द्र जस्ता पुत्र प्राप्त गरेकी थिइन् । त्यसैले यो व्रत पौराणिक
कालदेखि नै बस्ने गरेको देखिन्छ ।

व्रतविधि

प्रत्येक वर्ष कार्तिक शुक्ल पञ्चमीका दिन बेलुकादेखि षष्ठीका दिनसम्म मनाइने यो पर्वका लागि केही दिनअघिदेखि नै व्रत बस्ने नदी, तलाउ वा पोखरीहरूका किनारमा सफासुग्घर गरी बाँसका टहरा बनाई केराका खम्बा, उखु, पैयूँ आदि शुभ
कार्यमा प्रयोग गरिने वस्तुहरू राखेर रङ्गीविरङ्गी कपडा,ध्वजा,पताका र फूल मालाले सजाएर त्यसमा झिलिमिली बत्तीले मनमोहक बनाइन्छ । पञ्चमीका दिन व्रत बस्ने नरनारीले शुद्ध भई उपवास बसी व्रत आरम्भ गर्दछन् । यसरी उपवास बस्ने कार्यलाई खर्ना भन्दछन् । अघिल्लो दिन खर्ना बसेर बेलुकी नदी वा जलाशयमा उभिएर अस्ताउन लागेका सूर्यलाई नाङला किस्ती वा थालमा राखेर विभिन्न किसिमका फलफूल र मिठाईहरू, ठेकुवा र कसार अर्पण गर्दछन् । केही व्रतालुहरू रातभर त्यही पानीमा उभिएरै जाग्राम बस्दछन् भने कतिपय भक्तजनहरू सूर्य अस्ताएपछि घर आएर घरमै व्रत बस्दछन् । त्यस्तै कतिपय भक्तहरू व्रत बस्न साँझमा खोला वा पोखरीसम्म घरबाट घिस्रेर गई पानीमा गएर अस्ताउँदो सूर्यलाई नमस्कार गरी बिदा गरेर घर आउने र भोलिपल्ट सप्तमीका दिन बिहान पनि घरबाट घिस्रदै खोला वा पोखरी (व्रत गर्ने ठाउँ) मा पुगेर उदाउँदो सूर्यलाई नमस्कार गरेर पूजा गरी अर्घ दिएर फलफूल, मिठाई र सगुन अर्पण गरी घर आएर सबैलाई प्रसाद बाँडेर व्रत समाप्त गर्दछन्। यस प्रकार बेलुका अस्ताउँदो सूर्यको बिदाई गरी पानीमै रातभर बसेका, सूर्यलाई बिदा गरेपछि किनारमा रातभर बसेका र सूर्यलाई बिदा गरेपछि घरमा आएर व्रत बसेका यी तीनै थरीले षष्ठीका दिन बिहान सबेरै सूर्य उदाउने बेलामा पानीमा उभिएरै उदाउँदा सूर्यलाई नमस्कार गरी पूजा गरेर अर्घ दिई विभिन्न किसिमका फलफूल – पान, केरा, केराउ, नरिवल, जौ, चना, मिठाई र सगुनहरूका साथमा भुसुवा, ठेकुवा, कसार,कागती र अदुवा अर्पण गर्दछन् । सूर्य भगवान्लाई अर्पण गर्ने सबै मिठाईहरू गाईको दूध र घ्यूबाट तयार गरिएको हुन्छ। घरमा बनाउने मिठाईहरूमा गाईको शुद्ध घ्यूमा गहुँको पिठोबाट बनाएको ठेकुवा र चामलको पिठोबाट बनाएको कसार यस पर्वको मुख्य प्रसाद मानिन्छ। छालाका रोगी र विशेष गरी अन्य रोग लागेकाहरूले छठ पर्वमा सूर्यनारायणको यो व्रत बसेर भाकल गरेमा निरोगी हुने विश्वास गर्दछन् भने महिलाहरू आफ्ना व्रत बस्ने गर्दछन्। सूर्योदयको समयमा सूर्यनारायणलाई अर्घ दिएर पूजा गरी मिठाई फलफूल र सगुन अर्पण गरेर यो व्रत समापन गरी सबै फूलप्रसाद र फलफूल मिठाई अनि सगुनहरू घरमा गएर परिवार र आफन्तलाई बाँडेर खाई व्रत समाप्त गर्दछन् । यसरी व्रत बसेर भाकल गरेकाहरूले भाकल पूरा भएपछि खुसीले • विभिन्न किसिमका नाच नचाउने, पोखरीको डिलमा माटोको हात्ती राख्ने तथा दियोमा बत्ती बाल्ने आदि गर्ने गर्दछन् ।

यो छठ पर्वमा कार्तिक शुक्ल चतुर्थी अर्थात् दुई दिन अघिदेखि नै हात गोडाका नङ काटी शुद्ध भई नुहाएर सूर्य उपासना गरी एक छाक मात्र खाएर बस्ने परम्परा छ । जसलाई नहान खाय वा नहाय खाए भन्दछन् । यस दिन उपवास बसेर “म अब अशुद्ध चिज खान्न, तन मनले प्रभुको ध्यान गर्छु, तपाईंको शरणमा
पर्छ” भनी प्रण गरेर व्रतको आरम्भ गर्दछन् ।

पञ्चमीका दिन बिहानै नुहाएर चोखो भई व्रत बसेर बेलुका सखर हालेर पकाएको। खीर र लौकाको तरकारी खान्छन्, जसलाई खर्ना भन्दछन् । षष्ठीको दिन बिहान सबेरै नुहाएर शुद्ध भई दिनभर निराहार बसी बेलुका अस्ताउँदो सूर्यलाई नमस्कार गरी बिहान उदाउँदो सूर्यको प्रतीक्षामा रातभर जाग्राम बस्तछन्।

सूर्यलाई अर्घ दिँदा भन्ने मन्त्र

एहि सूर्य सहस्रांशो तेजोराशे जगत्पते ।
गृहाणार्घं मयादत्तं संज्ञया सहित प्रभो ।।

यस प्रकारले सप्तमीका दिन बिहान उदाउँदो सूर्यको पूजा गरी अर्घ दिएर फलफूल, मिठाई आदि अर्पण गरेर घर आएर घरका सबै परिवार र आफन्त इष्टमित्रहरू समेतलाई प्रसाद बाँडेर व्रत समापन गर्दछन् । यो व्रत पहिले पहिले तराईका हिन्दूहरूले मात्र बस्ने गरेकोमा पछि आएर हिन्दू, मुस्लिम, थारू लगायतका सबैले बस्न थालेका छन् । साथै बिस्तार बिस्तारै तराईमा बस्ने पहाडी समुदायले पनि यसको महत्व बुझेर सँगसँगै व्रत बस्न थालेका छन् र यो पर्व तराईमा मात्र सिमित रहेकोमा हालका वर्षहरूमा काठमाडौं उपत्यका र पहाडका अन्य शहर र गाउँहरूमा समेत नदी, खोला, पोखरी वा बस्ती नजिक कृतिम पोखरी बनाएर पानी भरेर भए पनि मनाउने गर्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्: